महिला गल्फ खेलाडीहरूले संस्थापनमा छलाङ मार्दै
समावेशी हुने कुरा आउँदा, गल्फ संसार अपेक्षित स्तरमा छैन - तर नेपाल, नाइजेरिया र मेक्सिकोका यी युवतीहरूले यसलाई परिवर्तन गर्न प्रयास गरिरहेका छन् ।
गल्फ एक पुरुष प्रधान खेल हो । संख्या नै हेर्नुहोस् न: अमेरिकामा २३% अन-कोर्स गल्फर मात्र महिला छन् । खेलको जरैदेखि भेदभाव गढेको छ । गल्फको आधुनिक खेल अठारौँ शताब्दीमा “पुरुषको खेल” को रूपमा विकास भएको थियो र त्यसपछि क्लबहाउसहरू धनी पुरुषहरूको भेट्ने र व्यवसायको बारेमा छलफल गर्न सामाजिक थलो बन्न थाले ।
आज, स्पष्ट प्रतिबन्धहरू त देखिँदैन, तर गल्फ अझै एक बहिष्करणीय खेलको रूपमा जारी छ । प्रायः महँगो क्लब सदस्यता शुल्क र उपकरणको खर्च धान्न सक्नेहरूलाई मात्र यसमा प्रवेश प्राप्त हुन्छ । विश्वभरिका धेरै क्लबहरूमा २०१९ सम्म पनि पुरुषहरूका लागि मात्र प्रवेश दिइन्थ्यो । र प्राइभेट (निजी) क्लबहरू अझै पनि लिङ्गको आधारमा कानुनी ढङ्गले नै विभेद गर्न सक्षम छन् । अश्वेत खेलाडीहरूको संख्या बढिरहेको भए पनि, खेलमा अझै पनि मुख्यतया श्वेतहरूकै वर्चस्व छ ।
यही कारणले नै नेपालकी प्रतिमा शेर्पा, नाइजेरियाकी आयीन एसिअन र मेक्सिकोकी मारिया फासी जस्ता युवा महिला गल्फ स्टारहरू हरित मैदानमा हिँडेको देख्न पाउनु असाध्यै रोचक छ । कोर्सको भित्र र बाहिर उनीहरूले गरेको नेतृत्वको माध्यमबाट, उनीहरूले गल्फरहरूको आगामी पुस्ताको लागि खेलको परिदृश्य नै परिवर्तन गरिरहेका छन् ।
मैले प्रतिमा, आयिन र मारियासँग उनीहरूको गल्फिङ करियर, भविष्यको लागि उनीहरूका आशा र उनीहरूको मन पर्ने खेलमा सबै पहुँच पुग्ने कुरा सुनिश्चित गर्नमा उनीहरूको प्रयासका बारेमा चर्चा गरेको थिएँ ।
(Courtesy of Pratima Sherpa)
प्रतिमा शेर्पा, १९, नेपाल
प्रतिमा एउटा गल्फ क्लबको मर्मतसम्भार छाप्रोमा जन्मेर हुर्किएकी हुन । प्रतिमा उनी बस्ने गल्फ कोर्सबाट सबै “वास्तविक खेलाडीहरू” गइसकेपछि राति अभ्यास गर्न टर्च बालेको सम्झन्छिन् । उनको पहिलो गल्फ क्लब उनका बाबुले रूखको हाँगाबाट कुँदेका एक अस्थायी क्लब थियो ।
आज, प्रतिमा उनको देशको शीर्ष-स्थान ओगट्ने महिला गल्फर हुन् ।
नेपालमा चार गल्फ क्लबहरू मात्र छन् र प्रतिमाका अनुसार तिनमा प्रायः धनी मानिसहरूले नै भरिने कुरा थाहा पाउँदा उनको उपलब्धी अझ प्रभावशाली लाग्छ । एक खेलाडी युवतीको रूपमा, अन्य खेलाडीहरूले उनलाई गल्फ कोर्समा प्राय: कमजोर खेलाडीको रूपमा सम्झन्थे । एकपटक नेपालको एक प्रमुख प्रतियोगितामा प्रतिमा एक मात्र महिला गल्फर थिइन्, त्यहाँ उनले एक खेलाडीले आफ्ना साथीहरूलाई किन महिलाले भाग लिइरहेको भनेर सोधेको सुनिन् । “उसले खेलको गति मात्र ढिलो बनाउँछे,” ती खेलाडीले भनेको उनी सम्झिन्छिन् । त्यस दिन प्रतिमाले तीन अण्डर पार खेलेर प्रतियोगिता कै सर्वश्रेष्ठ अंक हासिल गरेपछि ती खेलाडी चकित भए ।
अहिले, प्रतिमाका जीतहरूले अन्तर्राष्ट्रिय हेडलाइन बनाउँछन् (CNN र साउथ चाइना मर्निङ पोस्ट जस्ता प्रमुख सञ्चारमाध्यमहरूमा उनको फिचर पढ्नुहोस्) । यस वर्ष, फोर्ब्सले आफ्नो मनोरञ्जन र खेलकूदको विधामा 30 अण्डर 30 एसिया 2020 सूचीमा उनको नाम समावेश गरेको छ ।
तर उनको आश्चर्यजनक सफलताले पनि प्रतिमालाई भेदभावको शिकार हुनबाट जोगाउन सकेको छैन । वास्तवमा, कहिलेकाहीँ त आलोचकहरूले उनका उपलब्धीहरूलाई उनकै विरूद्ध प्रयोग गर्ने गर्छन् । प्रतिमाले उनले खेल्ने प्रायः जसो खेलहरू जित्न थालेपछि, उनका साथीहरूले उनलाई महिला प्रतियोगितामा प्रतिस्पर्धा नगर भनेर अनुरोध गर्थे किनभने उनीहरूलाई लाग्थ्यो कि प्रतिमा सहभागी भइसकेपछि अरू महिला गल्फरले जित्ने अवसर नै गुमाउँछन् । तर प्रतिमाले आलोचनालाई बेवास्ता गरिन् र प्रतिस्पर्धा गरिरहिन् - र जित्दै गइन् ।
प्रतिमाले आफ्नो खेल जीवनको सुरुमै के निर्णय गरिन् भने उनी नेपालका युवतीहरूलाई गल्फ खेल्न र सफल हुन आफ्नो आवाज प्रयोग गर्न चाहन्थिन् । भविष्यको लागि प्रतिमाको योजनामा गल्फ प्रतिष्ठान खोल्नु रहेको छ जसले खेल खेल्न स्रोतसाधन नहुने उनी जस्तै नेपाली गल्फरहरूलाई सहायता प्रदान गर्नेछ ।
प्रतिमाको कथा र सफलताले गर्दा अहिले नै नेपालको गल्फ खेलमा अन्य महिलाहरूको पहुँचमा सुधार आएको छ । उनी भन्छिन्, “मान्छेहरूले यदि म जस्तो विपन्न अवस्थाबाट आएर आज यस स्थानमा पुग्न सक्छु, जहाँ म जस्तो महिला पुग्ने कसैले अपेक्षा पनि गर्न सक्दैन, भने उनीहरूका छोरीहरूले पनि गर्न सक्छन् भन्ने महसुस गरिरहेका छन् ।” “धेरै अभिभावकहरू मकहाँ आए र भने, ‘हामी आफ्नी छोरीलाई तपाईं जस्तै बनाउन चाहन्छौँ ।’”
तर केटीहरूले वास्तवमै नेपालको गल्फ खेलमा पहुँच पाउन, खेललाई लोकप्रिय बनाउन सरकारले रकम लगानी गर्नुपर्ने प्रतिमाको ठहर छ । उनी हुर्किँदै गर्दा, प्रतिमाले धेरै सरकारी अधिकारीहरूले उनको गल्फ कोर्समा खेल्दै गरेको देखिन् । उनीहरूलाई उनको अनुरोध सरल छ: “खेल खेल्न चाहने बच्चाहरूलाई सहायता गर्ने बारेमा पनि सोच्नुहोस् ।”
नेपालका केटीहरूका लागि उनको भनाइ छ: “हामीलाई केटाहरू भन्दा कम हौँ भनेर सोच्न सिकाइएको छ र हामी त्यसलाई विश्वास गर्ने गर्छौं । त्यसैले म तपाईंलाई त्यसरी सोच्न बन्द गरौँ भन्न चाहन्छु । सानो छँदा मैले पनि यसरी नै सोच्थेँ र म गलत थिएँ ।”
(Courtesy of Iyene Essien)
आयिन एसिअन, १३, नाइजेरिया
आयिन एसिअन उनको पहिलो गल्फ क्लब उनी ५ वर्षको हुँदा समातेकी थिइन् । आठ वर्ष फास्ट-फरवार्ड गरेर हेर्दा १३ वर्षे उमेरकी उनी अहिले नाइजेरियाको शीर्ष जुनियर गल्फर हुन्, उनले १७ पदक र ११ अन्तर्राष्ट्रिय प्रतियोगिता आफ्नो हात पारिसकेकी छिन् ।
देशभरि, केटीहरू आयिनलाई प्रेरणाको स्रोतको रूपमा हेर्दछन्, तर उनले खेल खेल्न सुरू गर्दा, आयिनले उनको आदर्शको रूपमा हेर्ने त्यस्तो कोही थिएन । “धेरै बालिकाहरूलाई थाहा छैन गल्फ खेल पनि छ किनकि उनीहरूले वास्तवमा प्रख्यात गल्फ युवती वा खेल खेल्ने महिला गल्फरहरूका बारेमा सुनेका हुँदैनन्,” उनी भन्छिन् ।
उनले पाँच वर्षको उमेरमा खेलकूदमा लागेर आफ्नो पहिलो प्रतिस्पर्धा जितिसकेदेखि हालसम्म आयिनले धेरै पदकहरू जितिसकेकी छिन् । हालसालै, आयिनले २०१९ नाइजेरिया लेडीज गल्फ ओपन च्याम्पियनसिपमा दशौँ स्थान हासिल गरिन्, जहाँ १७७ गल्फरहरू मध्ये उनी एक मात्र किशोर खिलाडी थिइन् ।
आयिनको चाहना अझ धेरै नाइजेरियाली केटीहरू गल्फमा रुचि राखून् भन्ने भए पनि, यो खेलमा सबैको पहुँच छैन भन्ने उनलाई थाहा छ । “सुरूमा [गल्फ] एक महङ्गो खेल हो - तपाईंले क्लबहरू किन्नुपर्दछ, तपाईंलाई प्रशिक्षण दिन र प्रतियोगितामा जान निरन्तर प्रशिक्षकलाई तिर्नुपर्दछ ।” उनी भन्छिन् । “यो सम्भ्रान्त वर्गको खेल हो ।” आयिनलाई आशा छ कि उनको सरकारले देशका युवा र युवतीहरूलाई खेलमा सहभागी गराउन अझ बढी प्रयास गर्ने छ र उनीहरूको प्रशिक्षणमा पैसा खर्च गर्नेछ ।
प्राय: उनका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा, आयिन एक मात्र नाइजेरियाली प्रतिस्पर्धी हुने गर्छिन् । यो असहज भएतापनि, उनी जस्ता केटीहरू प्रशिक्षण लिइरहेका छन् र “उनीहरू विश्व जित्न तयार छन् ।” भन्ने कुरा प्रमाणित गर्न अझ प्रोत्साहित महसुस गरेको उनी बताउँछिन् ।
विश्वमहामारी सुरु हुनु अघि आयिनलाई इजिप्टमा आयोजित अल-अफ्रिकी जुनियर प्रतियोगितामा बालिका गल्फ टीमको कप्तान बनाउने निर्णय गरिएको थियो । कार्यक्रम स्थगित भएकोले उनी निराश त भएकी छिन्, तापनि आयिनले उनी कोर्समा फर्केपछि के गर्ने भन्ने अहिल्यै योजना बनाउन सुरु गरिसकेकी छिन् । उनको अर्को लक्ष्य: २०२२ समर युथ ओलम्पिकमा गल्फ खेलमा नाइजेरियाको लागि पहिलो स्वर्ण पदक ल्याउने हो ।
(Courtesy of Maria Fassi)
मारिया फासी, २२, मेक्सिको
मारिया भन्छिन्, “[गल्फ] सधैं बुबा र छोराको खेल हुने गर्थ्यो । यो एकदमै पुरुष प्रधान खेल हो ।” त्यसैले १२ वर्षको उमेरमा मेक्सिकन गल्फर लोरेना ओचोवासँग एक चरण खेल्ने अवसर नपाउँदासम्म गल्फ उनको लागि एक व्यवहारिक करियर हो-होइन भन्ने यकिन गर्न सकेकी थिइनन् । एक सफल मेक्सिकन महिला गल्फरलाई चिन्न पाउँदा मारियालाई उनको आफ्नै भविष्यको बारेमा आशा जगाइदियो । उनी यस्तो सोचेको सम्झन्छिन्: “अर्को कलिलो युवतीको लागि म यस्तै व्यक्ति बन्न चाहन्छु ।”
मारिया त्यही बनिन् । आर्कान्सास विश्वविद्यालयमा उनलाई गल्फ खेल्न भर्ती गरिएपछि मारिया महिलाको अमाच्योर गल्फमा उत्रिइन् । गत वर्ष, उनी LPGA टुरमा सामेल भइन् र एक वर्षपछि, यी २२ वर्षीयाले उनको पहिलो व्यावसायिक जीत हासिल गरिन् ।
यहाँसम्म पुग्न सधैं सजिलो थिएन । मारियाले खेलमा अरूबाट विभेदको सामना गर्नु परेको थियो । “यहाँ अमेरिकामा हुँदा, म एक ल्याटिना हुँ, मेक्सिकन हुँ, म पक्कै पनि एक अल्पसंख्यक हुँ र म एक महिला हुँ - कलेजमा म जे थिएँ त्यसैमा चित्त बुझाउने कुराको सामना गर्न र म केवल उनीहरू जस्तो नदेखिने हुनाले मेरो मूल्यको बारेमा अरू मानिसहरूले जे भन्छन् त्यसको वास्तवमै बेवास्ता गर्न नै कठिन थियो,” उनले बनाइन् ।
(Courtesy of Maria Fassi)
मारियाले “गल्फको संसारलाई फिर्ता दिने” उपायहरूका बारेमा सोच्दैछिन् । उनी गल्फमा महिलाहरूलाई उनीहरूले पाउनुपर्ने सम्मान दिलाउनमा मद्दत गर्न चाहन्छिन् । “म महिला गल्फमा अझ बढी मिडिया कभरेज ल्याउन चाहन्छु,” उनी भन्छिन् । उनी एक यस्तो फाउन्डेसनमा पनि लगानी गर्न चाहन्छिन्, जहाँ अशक्तता भएका बालिकाहरूका लागि गल्फलाई बढी पहुँचयोग्य र मित्रवत बनाउँने काम गरिनछ ।
मारियाको तात्कालिक लक्ष्य २०२१ ओलम्पिकमा मेक्सिकोको लागि पदक जित्नु हो । उनलाई थाहा छ कि उनी दिनको ६ घण्टा अभ्यास गरिरहेकी र चुस्तदुरुस्त रहन भरमग्दुर कोसिस गरिरहेकी भए पनि महामारीपछि प्रतिस्पर्धामा फर्किनु चुनौतीपूर्ण नै हुनेछ । तर उनी सकारात्मक सोच नै राख्छिन् ।
गल्फमा, “कि त तपाईं जित्नुहुन्छ या त सिक्नुहुन्छ, तर तपाईं कहिले हार्नुहुन्न,” उनी भन्छिन् ।
Read more
![](https://static1.squarespace.com/static/ta/5f402a9d4e121b7f850b4374/133/assets/hands-up.png)